काठमाडौं। बाढीपहिरोका कारण चीनसँग जोडिएका नेपालका प्रमुख तीन नाका रसुवागढी, तातोपानी र कोरला अवरुद्ध हुँदा नेपाल–चीन व्यापार प्रभावित भएको छ।
भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकाका सडक, पुल तथा भन्सारसँग सम्बन्धित संरचनामा ठूलो क्षति पुर्याएपछि नाका तत्काल सञ्चालनमा आउने अवस्था देखिएको छैन। तातोपानी नाका पनि अवरुद्ध छ भने असोज ८ देखि ११ गतेसम्मको वर्षा र पहिरोका कारण कालीगण्डकी करिडोरअन्तर्गतका सडक तथा पुलमा क्षति पुगेपछि कोरला नाकाबाट हुने व्यापारसमेत रोकिएको छ।
व्यवसायीका अनुसार तीनै नाका बन्द हुँदा चीनबाट आयात गरिएका करिब ७०० कन्टेनर चिनियाँ भूमिमै रोकिएका छन्। करिब रु. ५ अर्ब बराबरका वस्तु तथा सामान रोकिँदा व्यापारीहरू थप आर्थिक मारमा परेको व्यवसायीहरूको भनाइ छ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा रसुवा, तातोपानी र मुस्ताङ नाकाबाट क्रमशः रु. ४५ अर्ब ७३ करोड, रु. ४७ अर्ब ४८ करोड र रु. १४ अर्ब ४० करोडभन्दा बढीका वस्तु आयात भएका थिए।
सरकारले तीनै नाका तत्काल सञ्चालनमा ल्याउन चिनियाँ पक्षसँग कूटनीतिक पहल अघि बढाएको छ। पूर्वाधार विकासमन्त्री सुनील लम्सालले चिनियाँ राजदूत वाङ माओमिङसँग भेट गरी क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र नाका सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन्। चिनियाँ पक्षले पनि रसुवागढीको पुनर्निर्माण तथा तातोपानी र कोरला नाका सञ्चालनका लागि सहयोग गर्ने सकारात्मक धारणा व्यक्त गरेको छ।


प्रतिक्रिया