काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजीबजारलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन जोखिम तथा सुशासनमा आधारित नियमन रणनीति अघि बढाएको छ।
बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बढी जोखिम भएका क्षेत्रमा कडा नियमन तथा सुपरीवेक्षण गर्ने र बजारका सहभागीलाई आवश्यक सूचना उपलब्ध गराउँदै चरणबद्ध सुधार अघि बढाइने जानकारी दिए।
बोर्डले प्राथमिक र दोस्रो बजार सुधारका लागि छुट्टाछुट्टै समिति गठन गरेको छ। प्राथमिक बजारतर्फ सार्वजनिक निष्कासन, मूल्य निर्धारण, योग्य संस्थागत लगानीकर्ता, सेयर बाँडफाँट र म्युचुअल फन्डलगायत विषयमा नीतिगत सुधारको तयारी भइरहेको छ।
दोस्रो बजारमा कारोबारको प्रतिपक्ष जोखिम व्यवस्थापनका लागि सेन्ट्रल काउन्टर पार्टी (सीसीपी) आवश्यक रहेको अध्यक्ष भट्टले बताए। सीसीपीका लागि नेप्सेले छुट्टै संरचना विकास गर्ने वा सिडिएस एन्ड क्लियरिङ लिमिटेडको क्षमता विस्तार गरी जिम्मेवारी दिन सकिने विकल्पमा अध्ययन भइरहेको छ।
यस्तै, बोर्डले ब्रोकर कम्पनीलाई पुँजी, जोखिम वहन क्षमता, सेवा विविधीकरण र संस्थागत क्षमताका आधारमा चार श्रेणीमा वर्गीकरण गर्ने नीति अघि बढाएको छ। ब्रोकरलाई स्टक डिलरसिपलगायत थप सेवासँग जोड्दै संस्थागत क्षमता विस्तार गर्ने योजना पनि बोर्डको छ।
नेप्सेको ट्रेडिङ तथा अर्डर व्यवस्थापन प्रणाली, साइबर सुरक्षा र सूचना प्रविधि संरचना सुधारलाई समेत प्राथमिकता दिइएको छ। नेप्सेसँग सम्बन्धित करिब ३१–३२ वटा नियामकीय व्यवस्था तयार गरी क्रमशः कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाइएको बोर्डले जनाएको छ।
अध्यक्ष भट्टका अनुसार लगानीकर्ता संरक्षणका लागि बजार घट्दा क्षतिपूर्ति दिनेभन्दा कम्पनीको वित्तीय अवस्था, भविष्यको योजना र सम्भावित जोखिमबारे समयमै र पर्याप्त सूचना उपलब्ध गराउनु महत्वपूर्ण हुन्छ। साथै, सबै क्षेत्रलाई एउटै ढाँचामा नियमन गर्नेभन्दा जोखिमको स्तरअनुसार नियमन र सुपरीवेक्षण गर्ने नीति बोर्डले लिएको छ।


प्रतिक्रिया