काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका ७ जनाको शव नुवाकोट र धादिङमा फेला परेको छ। पछिल्लो विवरणअनुसार नुवाकोटमा ३ र धादिङमा ४ जनाको शव भेटिएको बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीले जानकारी दिएका छन्।
तिब्बती क्षेत्रबाट रसुवा हुँदै आएको बाढीले टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याउँदै नुवाकोट र धादिङसम्म प्रभाव पारेको छ। बाढीले नदी आसपासका बस्ती, पुल, सडक तथा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ।
बेपत्ता व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। नेपाली सेनाका हेलिकप्टर र मेडिकल टोलीसमेत प्रभावित क्षेत्रमा पठाइएको छ।
प्रशासनले त्रिशूली नदी आसपासका जोखिमयुक्त तथा तल्लो तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन र जोखिम देखिए सुरक्षित स्थानमा जान आग्रह गरेको छ।


