भ्याट विवरणमा गल्ती भए ७ दिनभित्र आफैँ सच्याउन सकिने


काठमाडौं । करदाताले मूल्य अभिवृद्धि कर (भ्याट) विवरणमा भएको सामान्य त्रुटि अब आफैँ सच्याउन सक्ने भएका छन्। आन्तरिक राजस्व विभागले नयाँ संस्करणको ‘करदाता पोर्टल’ परीक्षणमा ल्याएसँगै यस्तो सुविधा उपलब्ध गराएको हो।

नयाँ पोर्टलमार्फत भ्याट विवरण पेश गरेपछि अंकगत वा अन्य सामान्य त्रुटि भेटिएमा सात दिनभित्र आफैँ संशोधन गर्न सकिने विभागले जनाएको छ। यसअघि यस्तो विवरण सच्याउन कर कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता थियो।

नयाँ पोर्टलमा स्रोतमा कर कट्टी (ईटीडीएस) को विवरण मासिक रूपमा प्रणालीमा दाखिला गर्नुपर्ने व्यवस्था गरिएको छ। यसबाट कर कट्टी भएको रकम समयमै प्रणालीमा देखिने र सम्भावित अनियमितता नियन्त्रणमा सहयोग पुग्ने विभागको अपेक्षा छ।

प्यान, भ्याट, अन्तःशुल्कलगायत सेवा एउटै पोर्टलमा समेटिएको छ। करदाताले प्यान कार्ड, अन्तःशुल्क इजाजतपत्र र करचुक्ता प्रमाणपत्रसमेत अनलाइनबाट डाउनलोड गर्न सक्नेछन्। विदेशी लगानीकर्ताले प्यान दर्ताका लागि अनलाइन आवेदन दिन सक्ने सुविधा पनि थपिएको छ।

त्यस्तै, अन्तःशुल्क विवरण करदाताले आफैँ रुजु गर्न सक्ने तथा आय विवरणको अनुसूची–१० प्रणालीबाटै स्वतः आउने व्यवस्था गरिएको विभागले जनाएको छ।

नयाँ पोर्टल भदौ ९ गतेदेखि परीक्षणमा ल्याइएको हो। परीक्षण अवधि सकिएर नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआएसम्म पुरानो करदाता पोर्टल पनि सञ्चालनमै रहने विभागले जनाएको छ। नयाँ प्रणालीले कर कार्यालय धाउनुपर्ने बाध्यता घटाउँदै कर प्रशासनलाई थप डिजिटल, स्वचालित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

२०८३ भाद्र ९, मंगलवार १६:५० प्रकाशित
ट्रेन्डिङ समाचार