काठमाडौ । कालीगण्डकी नदीको बाढी र कटानका कारण क्षतिग्रस्त २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारणलाइन मर्मत गरी विद्युत् आपूर्ति सुचारु गरिएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवा र वडा नं. ६ धिरच्याङमा तीनवटा टावरमा क्षति पुगेपछि अवरुद्ध प्रसारणलाइन क्यानडाको प्रविधिमा आधारित अस्थायी टावर निर्माण गरेर सञ्चालनमा ल्याइएको हो। नेपाल विद्युत् प्राधिकरणका अनुसार शनिबार राति साढे १० बजे लाइन चार्ज गरिएको हो।
प्रसारणलाइन अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङका जलविद्युत् आयोजनाबाट उत्पादित १७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सकेको थिएन। प्राधिकरण र जलविद्युत् आयोजनाका प्राविधिक जनशक्तिको संयुक्त प्रयासमा क्षति पुगेको २० दिनमै विद्युत् आपूर्ति पुनः सञ्चालन गर्न सफल भएको जनाइएको छ।
विद्युत् आपूर्ति सुचारु भएसँगै प्रभावित जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ। प्राधिकरणले क्षतिग्रस्त तीनवटा टावरको स्थायी पुनर्निर्माण प्रक्रिया पनि अघि बढाउने जनाएको छ।




प्रतिक्रिया