ADVERTISEMENT

असोजमा मात्रै १ खर्ब रुपैयाँ बजारमा, चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

काठमाडौ ।दसैं–तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकबाट असोज महिनामा मात्रै करिब १ खर्ब रुपैयाँ बजारमा गएको छ।

यसमध्ये १६ अर्ब रुपैयाँ नयाँ नोट र बाँकी ८४ अर्ब रुपैयाँ ५ सय र १ हजार दरका नयाँ तथा सुकिला नोट रहेका छन्।
राष्ट्र बैंकका अनुसार असोजमा चलनचल्तीमा रहेको मुद्रा १ खर्ब रुपैयाँले बढेर ८ खर्ब ९८ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। गत वर्षको असोजमा यस्तो रकम ७ खर्ब ८६ अर्ब रुपैयाँ थियो।

यस वर्ष असोज १ देखि ३० गतेसम्म दसैंका लागि १६ अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गरिएको थियो। त्यसमध्ये १२ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामार्फत र ४ अर्ब रुपैयाँ सर्वसाधारणलाई वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ।

यस वर्ष राष्ट्र बैंकले सर्वसाधारणलाई सहज रूपमा नयाँ नोट साट्ने व्यवस्था मिलाएको थियो। बैंक तथा वित्तीय संस्थाका एटीएममा १०० रुपैयाँका नोट राख्न निर्देशन दिइएकाले पनि नयाँ नोट सटहीका लागि हुने भीड कम भएको बताइएको छ।

यद्यपि, चाडपर्वमा नगद प्रवाह बढ्दा बजारमा माग र मूल्यवृद्धिमा दबाब पर्न सक्ने तथा नोट छपाइ र व्यवस्थापनमा राष्ट्रको खर्च बढ्ने चुनौती रहेको छ। डिजिटल बैंकिङको विस्तारले भने पछिल्ला वर्षमा नगद कारोबार र नयाँ नोटको माग घटाउन सहयोग गरेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार