काठमाडौं । मुस्ताङको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा अनुकूल मौसमसँगै हेलिकप्टरमार्फत भारतीय धार्मिक पर्यटकको आगमन बढेको छ। दुई दिनमा १९ वटा चार्टर हेलिकप्टरमार्फत ९५ भारतीय तीर्थालुले मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन्।
जोमसोम विमानस्थलका प्रमुख दीपक पोखरेलका अनुसार सोमबार आठ र मंगलबार ११ वटा हेलिकप्टरले काठमाडौं र मुक्तिनाथबीच चार्टर उडान गरेका थिए। मुक्तिनाथ र दामोदर कुण्ड जाने अधिकांश चार्टर हेलिकप्टरका यात्रु भारतीय रहेको उहाँले बताउनुभयो।
सडकमार्गबाट आउने तीर्थालुलाई लेक लाग्ने समस्या तथा वर्षायाममा सडक अवरुद्ध हुनसक्ने जोखिमका कारण भारतीय तीर्थालुले हेलिकप्टर रोज्ने गरेको मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कार्यालय प्रमुख दिनेश भुषालले बताउनुभयो। उहाँका अनुसार भदौ लागेसँगै दैनिक करिब १२ सय तीर्थालु मुक्तिनाथ पुग्ने गरेका छन्।
समुद्री सतहदेखि ३ हजार ६१० मिटर उचाइमा रहेको मुक्तिनाथमा नेपालीपछि सबैभन्दा धेरै भारतीय तीर्थालु पुग्ने गरेका छन्। मन्दिरमा वार्षिक करिब आठ लाख नेपाली तथा विदेशी तीर्थालु र पर्यटक आउने गरेको बताइएको छ।
मुक्तिनाथमा दर्शन, पूजापाठ र स्नान गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। तीर्थालुलाई लेक लाग्ने समस्या भए उपचारका लागि मन्दिर क्षेत्रमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्रसमेत सञ्चालनमा रहेको छ।
अर्धनिषेधित क्षेत्रमा पर्ने उपल्लो मुस्ताङको दामोदर कुण्डमा हेलिकप्टरमार्फत जाने पर्यटक तथा तीर्थालुसँग अनिवार्य रूपमा सुरक्षा निकायका एक जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ।


