डाँफेले गुणका जहाज किने पनि तत्काल उडान नपाउने


काठमाडौं । बुटिक एयरलाइन्सका रूपमा आन्तरिक उडानमा प्रवेश गर्ने तयारीमा रहेको डाँफे एयरले गुण एयरलाइन्सका तीनवटा जेटस्ट्रिम जहाज खरिद सम्झौता गरे पनि तत्काल ती जहाजबाट उडान सञ्चालन गर्न नपाउने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट डाँफेले एटीआर ७२–६०० जहाज सञ्चालन गर्ने गरी नो अब्जेक्सन लेटर (एनओसी) पाएको छ। त्यसैले अनुमति परिवर्तन नगरेसम्म जेटस्ट्रिमबाट उडान गर्न नपाउने क्यानले जनाएको छ।

डाँफे एयरका सीईओ अभिषेकमान श्रेष्ठका अनुसार कम्पनीले गुणका तीन जहाज खरिद गर्ने सम्झौता गरिसकेको छ भने प्राइम बैंकमा रहेको गुणको ऋणसमेत स्वाप भइसकेको छ। यद्यपि जहाजको स्वामित्व हस्तान्तरण भने बाँकी छ।

डाँफेको पहिलो प्राथमिकता एटीआर ७२ रहेको श्रेष्ठले बताए। आगामी दशैंसम्म कम्तीमा एउटा एटीआर ल्याएर उडान सुरु गर्ने र त्यसपछि मात्रै जेटस्ट्रिम सञ्चालन गर्ने कम्पनीको तयारी छ।

कम्पनीले दुई महिनामा एउटा एटीआर ल्याउने योजना बनाएको छ। त्यसका लागि २२ जना पाइलट तयारी अवस्थामा राखिएको तथा आवश्यक माथिल्लो तहका कर्मचारीसमेत नियुक्त गरिसकेको श्रेष्ठले जानकारी दिए।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार डाँफेले एटीआर जहाज सञ्चालन गर्ने गरी अनुमति लिएकाले हाल अन्य प्रकृतिका जहाजबाट उडान गर्न पाउँदैन। उनका अनुसार कम्पनीले कम्तीमा एउटा आफ्नै स्वामित्वको जहाजसहित तीनवटा जहाज ल्याउनुपर्नेछ।

क्यानले २०२४ फेब्रुअरी ९ मा एयरलाइन्स अपरेटर्स सर्टिफिकेट रिक्वायरमेन्ट (एओसीआर) को नियम १० संशोधन गर्दै २०२९ फेब्रुअरीभित्र वायुसेवा कम्पनीले न्यूनतम पाँचवटा जहाज पुर्‍याउनुपर्ने व्यवस्था गरेको छ। उक्त व्यवस्था डाँफे एयरमा पनि लागू हुनेछ।

डाँफेले पहिलो चरणमा एउटा एटीआर ल्याएर जहाज संख्या थप्दै जान सक्ने भए पनि तीनवटा जहाज नल्याएसम्म उडान सञ्चालन प्रमाणपत्र (एओसी) प्राप्त गर्न नसक्ने क्यानले जनाएको छ।

जेटस्ट्रिमबाट उडान गर्ने भए डाँफेले क्यानसँग अनुमति लिएर आफ्नो फ्लिट परिवर्तन गर्नुपर्नेछ। हालसम्म कम्पनीको अनुमति एटीआरका लागि मात्रै रहेकाले गुणका जहाज खरिदसम्बन्धी विषयमा क्यानलाई आधिकारिक जानकारी नभएको भुलले बताए।

२०८३ भाद्र ९, मंगलवार १६:०६ प्रकाशित
ट्रेन्डिङ समाचार