बाढी–पहिरोले देशभरका सडक प्रभावित


काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सोमबार बिहान ६ः२० बजेसम्मको प्रहरी विवरणअनुसार केही सडक पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

सिन्धुपाल्चोकको कोदारी र लिपिङ क्षेत्रमा पहिरो तथा बाढीका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। इलामको राजदुवालीमा पहिरोका कारण मेची राजमार्ग पनि बन्द छ।

यस्तै, रसुवाको खाल्टे क्षेत्रमा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी तथा पासाङ ल्हामु सडकखण्ड प्रभावित भएका छन्। काभ्रेको बीपी राजमार्गमा राति ६ बजेदेखि बिहान ४ बजेसम्म, कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको टोखा–छहरे सडकमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकिएको छ।

कोशी प्रदेशको भोजपुरस्थित बोखिममा मध्यपहाडी लोकमार्ग तथा गण्डकी प्रदेशका बागलुङको बेलबगर, मुस्ताङको कैकुखोला र मनाङको खोत्रो क्षेत्रमा सम्बन्धित सडक एकतर्फी सञ्चालनमा छन्। कर्णालीको रुकुम पश्चिमस्थित रिजेगार्ड खोलामा बाढी आएपछि जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

लगातार वर्षा भइरहेकाले बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले प्रहरीले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझ्न र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ।

२०८३ भाद्र ८, सोमबार ०८:३७ प्रकाशित
ट्रेन्डिङ समाचार