राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत् उत्पादनको तयारी


काठमाडौं। म्याग्दीको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको आयोजनामा बाँध, सुरुङ, डिसेन्डर, विद्युत्गृह र स्विचयार्ड निर्माण तथा उपकरण जडानको काम सकिएको हो।

आयोजनाका अनुसार २० मेगावाट क्षमताका एक युनिटको परीक्षण सम्पन्न भइसकेको छ भने अर्को युनिटको पनि परीक्षण सुरु भएको छ। एक सातादेखि १० दिनभित्र परीक्षण पूरा गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं. ५ झिँको फेदीमा बाँध तथा ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ निर्माण गरिएको छ। आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी दाना–कुश्मा प्रसारण लाइनमा जोडिनेछ।

रु. ६ अर्ब लागतमा निर्माण सुरु भएको आयोजना कोरोना महामारी, बाढी, पहिरो तथा निर्माण सामग्रीको अभावलगायत कारण पटक–पटक म्याद थपिँदै आएको थियो। आयोजनाले वार्षिक करिब २४ करोड ५ लाख ९३ हजार युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।

करिब दुई दशकको प्रतीक्षापछि आयोजना सम्पन्न हुन लागेको भन्दै स्थानीय उद्योगी व्यवसायी तथा जिल्लावासी उत्साहित भएका छन्। म्याग्दीमा जलविद्युत् विकासको सुरुआती आधारका रूपमा राहुघाट आयोजनालाई लिइँदै आएको छ।

२०८३ भाद्र ८, सोमबार ०८:२१ प्रकाशित
ट्रेन्डिङ समाचार