काठमाडौं । भारतको ओडिशास्थित पारादीप तटबाट करिब २४० समुद्री माइल टाढा बंगालको खाडीमा पनामा झण्डा भएको मालवाहक जहाज ‘एमभी ओसन विनर’ डुब्दा २२ जना चालक दलका सदस्य बेपत्ता भएका छन्।
जहाजमा रहेका २४ जनामध्ये दुई जनालाई लाइफ र्याफ्टबाट जीवितै उद्धार गरिएको भारतीय तटरक्षक बलले जनाएको छ। जहाजसँग सम्पर्क विच्छेद भएपछि शनिबार बिहान ११ः४८ बजे उद्धार समन्वय केन्द्रमा सूचना पुगेको थियो।
त्यसपछि भारतीय तटरक्षक बल र नौसेनाले खोज तथा उद्धार अभियान थालेका छन्। नजिकै रहेका व्यावसायिक जहाजलाई समेत उद्धारमा परिचालन गरिएको छ। एमटी आइसोपोसले दुई जनालाई लाइफ र्याफ्टबाट उद्धार गरेको हो।
बेपत्ता चालक दलमा २० जना चिनियाँ, तीन जना म्यानमारका र एक जना बंगलादेशी नागरिक रहेको बताइएको छ। जहाजले पारादीपबाट करिब ७२ हजार १०० मेट्रिक टन फलामे अयस्क बोकेर सिंगापुरतर्फ यात्रा गरिरहेको थियो।
जहाज अगस्ट २० को राति पारादीपबाट छुटेको थियो। जहाज डुब्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। भारतीय अधिकारीहरूले २२ बेपत्ताको खोजीका लागि समुद्रमा उद्धार अभियान तीव्र बनाएका छन्।

प्रतिक्रिया