काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अटोमोबाइल कम्पनीहरूले ग्राहक आकर्षित गर्न नगद छुटदेखि निःशुल्क बीमा, विस्तारित वारेन्टी र उपहारसम्मका आकर्षक योजना सार्वजनिक गरेका छन् ।
एक्स्पोको सुरुवाती दुई दिनमै ५५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । मेलामा टाटा, निसान, एमजी, होन्डा, ओमोडा एन्ड जेकोलगायतका ब्रान्डले विशेष अफर सार्वजनिक गरेका छन् ।
टाटा मोटर्सले नयाँ पञ्च ईभीमा १ लाख रुपैयाँ नगद छुट दिएको छ । ३३ लाख ९९ हजार रुपैयाँ पर्ने पञ्च ईभी एक्स्पो अवधिमा ३२ लाख ९९ हजार रुपैयाँमा बुकिङ गर्न सकिनेछ । टियागो ईभीको मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यी दुवै मोडलमा ब्याट्री र मोटरको वारेन्टी ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्म दिइएको छ ।
निसानको टेकटन एसयूभीमा २ लाख ७० हजारदेखि ४ लाख ४० हजार रुपैयाँसम्म नगद छुट उपलब्ध छ । टेकटनको मूल्य ५३ लाख ९९ हजारदेखि ८७ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ ।
वुलिङ मिनी ईभीमा फ्ल्याट १ लाख रुपैयाँ छुट दिइएको छ । छुटपछि यसको दुई भेरियन्टको मूल्य क्रमशः १९ लाख ९९ हजार र २१ लाख ९९ हजार रुपैयाँ पर्नेछ ।
ओमोडा एन्ड जेकोले विभिन्न मोडलमा १ लाखदेखि २ लाख ६० हजार रुपैयाँसम्म नगद छुट दिएको छ । जेको जे फाइभ प्रोमा सबैभन्दा बढी २ लाख ६० हजार रुपैयाँ छुट उपलब्ध छ । साथै, ग्राहकले एक वर्षको निःशुल्क बीमा, सडक कर छुट र ११ वर्षको वारेन्टी पाउनेछन् । दुई जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत चीन भ्रमणको अवसरसमेत पाउनेछन् ।
एमजी मेजेस्टरमा भने कम्पनीले कुल १५ लाख ५० हजार रुपैयाँसम्मको फाइदा दिने जनाएको छ । यसमा ८ लाख रुपैयाँ नगद छुट, एक वर्षको बीमा र प्रिमियम एसेसरीजलगायतका सुविधा छन् । बुकिङ गर्ने ग्राहकले लक्की ड्रमार्फत सामसङ ग्यालेक्सी एस२६ अल्ट्रा जित्ने अवसरसमेत पाउनेछन् ।
दुईपाङ्ग्रे सवारीमा होन्डाले ‘वान गोल्डेन की, वान गोल्डेन चान्स, वान गोल्डेन विन’ अफर ल्याएको छ । गोल्डेन कीबाट होन्डाको स्कुटर स्टार्ट गर्न सफल हुने ग्राहकले स्कुटर खरिदमा ५० हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।
यस्तै, सीएफमोटो २५० डुअल ईएफआईमा ५ वर्ष वा ६० हजार किलोमिटरसम्मको वारेन्टी, फाइनान्सिङ र एक्स्चेन्ज सुविधा उपलब्ध गराइएको छ ।
व्यावसायिक सवारीतर्फ डोङफेङका विद्युतीय बसमा पहिलो ५० ग्राहकलाई ५ लाख रुपैयाँ छुट र थप ३ वर्षको विस्तारित वारेन्टीको सुविधा दिइएको छ । चेरी वान्डाले भने विद्युतीय भ्यान खरिदका लागि विनाधितो हायर पर्चेज कर्जा योजना ल्याएको छ ।
नगद छुट, बीमा, सडक कर छुट, विस्तारित वारेन्टी, एक्स्चेन्ज र लक्की ड्रसम्मका योजनाका कारण यसपटकको मोबिलिटी एक्स्पो सवारीसाधन खरिदकर्ताका लागि आकर्षक बनेको छ ।


