वासिङ्टन डीसी । इरानबाट सम्भावित आक्रमणको खतरा भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गत जुलाईमा टर्कीबाट बेलायत लैजाँदा गोप्य रूपमा विमान परिवर्तन गरिएको खुलासा भएको छ।
द वासिङ्टन पोस्टका अनुसार, अंकाराबाट प्रस्थान गर्ने क्रममा ट्रम्पलाई पुरानो ‘एयर फोर्स वन’ बाट क्याटरिङ ट्रकको आडमा निकालेर अमेरिकी सैन्य विमान सी–३२एमा सारिएको थियो।
ट्रम्प सवार सी–३२ए बेलायतको रोयल एयर फोर्स मिल्डेनहल पुगेको थियो भने पत्रकार र कर्मचारी बोकेको पुरानो एयर फोर्स वनलाई ‘डिकॉय’ का रूपमा प्रयोग गरिएको थियो। उक्त विमानले ‘AF1’ कलसाइनसमेत प्रयोग गरेको थियो।
यो घटनाले नयाँ एयर फोर्स वनको सुरक्षा प्रणाली पूर्ण रूपमा तयार भइसकेको थियो कि थिएन भन्ने प्रश्नसमेत उठाएको छ। ह्वाइट हाउसले भने ट्रम्पको सुरक्षाका लागि उच्चस्तरीय सुरक्षा प्रोटोकल अपनाइएको जनाएको छ।
२०८३ श्रावण २६, मंगलवार ११:१३ प्रकाशित

