काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले अब नगदरहित प्रणालीबाट शुल्क भुक्तानी गर्न सक्ने भएका छन्।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंक लिमिटेडबीच सुरुङमार्गको प्रवेश तथा उपभोग शुल्क आरएफआईडी र क्यूआर कोडमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउने सम्बन्धमा सम्झौता भएको हो।
सम्झौताअनुसार सुरुङमार्ग प्रवेश गर्दा लाग्ने शुल्क आरएफआईडी प्रणालीमार्फत व्यवस्थापन गरिनेछ भने ट्रक तथा अन्य व्यवसायीले क्यूआर कोडबाट शुल्क तिर्न सक्नेछन्। यसले नियमित रूपमा सुरुङमार्ग प्रयोग गर्ने व्यवसायीलाई नगद बोकेर शुल्क तिर्नुपर्ने बाध्यता हटाउनुका साथै भुक्तानी प्रक्रिया सहज र पारदर्शी हुने अपेक्षा गरिएको छ।
सम्झौतामा महासंघका तर्फबाट अध्यक्ष राजेन्द्र विक्रम बाँनिया र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले हस्ताक्षर गरेका छन्।
सरकारले तोकेको दरअनुसार हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० रुपैयाँ, मिनी बस तथा मिनी टिपर/ट्रकले क्रमशः ११५ र ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। बस तथा सिंगल रियर एक्सल ट्रकका लागि प्रवेश शुल्क २६० र बाहिरिने शुल्क २०० रुपैयाँ तोकिएको छ।
त्यस्तै, मल्टी एक्सल ट्रक, अन्य भारी सवारीसाधन तथा भारी उपकरणका लागि प्रवेश शुल्क ६०० र बाहिरिने शुल्क २५० रुपैयाँ निर्धारण गरिएको छ।

