वीरगन्ज । प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जनालाई पक्राउ गरेको छ।
सोमबार साँझ वीरगन्ज महानगरपालिका–१० आदर्शनगरमा दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद भएको पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईले बताएका छन्।
पक्राउ पर्नेमा भारतको सीतामढीका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह, सोही ठाउँका २६ वर्षीय सागरकुमार सर्राफ र पर्साको विन्दबासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन्।
प्रहरीका अनुसार सुरजको साथबाट १ लाख, उपेन्द्रबाट १८ लाख १६ हजार, सागरकुमारबाट १८ लाख ३४ हजार र राहुलकुमारबाट १६ लाख रुपैयाँ बरामद भएको हो। बरामद रकम ५ सय र १ हजार रुपैयाँका नोटमा रहेको प्रहरीले जनाएको छ।
उनीहरू प्रदेश २–०३–००३ प ७२१५ नम्बरको सुपर स्प्लेन्डर र ना.५७ प ५१८२ नम्बरको एफजेड मोटरसाइकलमा सवार थिए। पक्राउ परेकामाथि पर्सा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

