बोगोटा । पश्चिमी कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने ५७० जना घाइते भएका छन्।
भूकम्पका कारण पेरेरिया, काली, मानिजालेस, क्विब्दो लगायतका सहरमा भवन तथा पूर्वाधारमा ठूलो क्षति पुगेको छ। केही मानिस भग्नावशेषमा पुरिएको आशंकामा उद्धार तथा खोजी कार्य जारी छ।
कोलम्बियाका राष्ट्रपति अबेलार्दो दे ला एस्प्रियेलाले राष्ट्रिय आपत्काल घोषणा गर्दै भग्नावशेषमा फसेकाहरूको उद्धारलाई सरकारको पहिलो प्राथमिकता बताएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको केन्द्र जमिनको करिब १०७ किलोमिटर गहिराइमा थियो। कोलम्बियाको भूगर्भ सेवाले यसलाई २१औँ शताब्दीमा देशमा रेकर्ड भएको सबैभन्दा शक्तिशाली भूकम्प भनेको छ।
भूकम्पपछि पश्चिमी क्षेत्रका केही विमानस्थलमा उडान अस्थायी रूपमा बन्द गरिएको छ। साथै, २१ वटा परकम्प रेकर्ड भइसकेकाले थप परकम्प आउन सक्ने चेतावनी दिइएको छ।

