काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। पश्चिम नेपालमा मनसुनको न्यून चापीय रेखा सरदरभन्दा केही उत्तरतर्फ रहेकाले विभिन्न प्रदेशमा वर्षा भइरहेको छ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा अधिकांश बदली रहेको छ भने अन्य प्रदेशमा पनि आंशिकदेखि सामान्य बदली देखिएको छ। लुम्बिनीका केही स्थानसहित कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका धेरै स्थानमा तथा अन्य पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णालीका पहाडी तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
रातिसमेत हिमाली तथा पहाडी क्षेत्रमा बदली रही केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।
२०८३ श्रावण २६, मंगलवार ०७:५० प्रकाशित

