काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले विश्वकपसहित प्रमुख प्रतियोगितामा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने योजना फिर्ता लिएको छ। व्यापक विरोध र आवश्यक समर्थन जुट्न नसकेपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले प्रस्ताव अघि नबढाउने घोषणा गरेका हुन्।
इन्फान्टिनोले योजनाले फुटबल समुदायमा विभाजन सिर्जना गरेको भन्दै यसले आफ्नो उद्देश्य पूरा नगर्ने स्पष्ट पारे। यसअघि उनले २ सय ११ सदस्य राष्ट्रलाई समर्थन गरेबापत आर्थिक सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका थिए।
तर युइएफएका ५५ सदस्य राष्ट्र, कन्काकाफ र एएफसीले योजनाको विरोध गरेपछि प्रस्ताव पारित हुने सम्भावना कमजोर बनेको थियो। युइएफएले इन्फान्टिनोप्रति विश्वास घटेको समेत जनाएको थियो।
फिफाले ‘फिफा फरवार्ड इन्टरप्राइज’ नामक कम्पनीमार्फत विश्वकपलगायत प्रतियोगिताको व्यावसायिक अधिकार सञ्चालन गर्ने र बाह्य लगानीकर्तालाई अल्पमत हिस्सेदारी बिक्री गर्ने योजना बनाएको थियो।
यस घटनापछि इन्फान्टिनोको नेतृत्वमाथि दबाब बढेको छ। उनी आगामी फिफा कंग्रेसमा चौथो कार्यकालका लागि उम्मेदवार बन्ने तयारीमा छन्। उनलाई चुनौती दिने सम्भावित व्यक्तिहरूमा कन्काकाफ अध्यक्ष भिक्टोर मोन्टाग्लीयानी, एएफसी अध्यक्ष शेख सलमान बीन इब्राहिम अल खलिफा र पीएसजी अध्यक्ष नासेर अल खेलाइफी रहेका छन्।

