पहिरो र वर्षाले प्रमुख राजमार्ग प्रभावित, पाँच सडकमा यातायात अवरुद्ध
काठमाडौं । लगातारको वर्षा, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न प्रमुख राजमार्गमा यातायात सेवा प्रभावित भएको छ।
नेपाल प्रहरीका अनुसार इलामको मेची राजमार्ग, अछामको मध्यपहाडी लोकमार्ग (पानीखोला) र कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडक पूर्ण रूपमा बन्द छन्। बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा बाढीको जोखिमका कारण सवारी सञ्चालन रोकिएको छ भने भोजपुरको बोखिमस्थित मध्यपहाडी लोकमार्गमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा अघि सडक अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ।