राजस्व लक्ष्य भेट्न दैनिक १९ अर्बभन्दा बढी उठाउनुपर्ने
काठमाडौं । चालु आर्थिक वर्ष समाप्त हुन १९ दिन मात्र बाँकी रहँदा सरकारले राजस्व सङ्कलनमा लक्ष्यको ७५.१७ प्रतिशत प्रगति गरेको छ। शुक्रबारसम्म ११ खर्ब १२ अर्ब ४८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। वार्षिक १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य पूरा गर्न बाँकी १९ दिनमा ३ खर्ब ६७ अर्ब ५१ करोड रुपैयाँ अर्थात् दैनिक करिब १९ अर्ब ३४ करोड रुपैयाँ सङ्कलन गर्नुपर्ने अवस्था रहेको छ। पूँजीगत खर्च भने लक्ष्यको ३४.८७ प्रतिशतमा मात्र सीमित रहेको छ।