काठमाडौं । सरकारले सवारी तथा यातायात व्यवस्थापनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री बनाउन नयाँ कानुनी व्यवस्था ल्याउने तयारी गरेको छ। प्रस्तावित विधेयकअनुसार ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई ५०० रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिनेछ भने ट्राफिक निरीक्षकलाई घटनास्थलमै स्पट फाइन गर्ने अधिकार दिइनेछ।
विधेयकमा कालो सिसा प्रयोग गर्नेलाई १ लाख रुपैयाँसम्म, मापसे वा अत्यधिक गतिमा सवारी चलाउनेलाई २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था प्रस्ताव गरिएको छ। हेल्मेट वा सिट बेल्ट नलगाउने, ट्राफिक संकेत उल्लंघन गर्ने, मोबाइल प्रयोग गर्दै सवारी चलाउनेलगायत कसुरमा पनि जरिवाना बढाइएको छ। दोहोरिने गल्तीमा थप कडा सजाय र जरिवाना तत्काल नतिरे लाइसेन्स वा ब्लुबुक नियन्त्रणमा लिन सकिने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
२०८३ असार १२, शुक्रबार १२:४३ प्रकाशित

