राजश्व छली गर्नेविरुद्ध धमाधम कारवाही,सुन तस्करी गर्ने विरुद्ध ५० करोड ६० लाखको मुद्धा


काठमाडौं
मुलुकमा अस्वाभाविक रुपमा हुने गरेको राजश्व चुहावट रोक्न राजश्व अनुसन्धान विभागले आफ्नो अनुसन्धान र कारवाही प्रक्रियालाई तदारुकता दिएको छ । विभागले पछिल्लो पटक विलविजक विना सुुन तस्करी गर्ने विभिन्न व्यक्तिहरु विरुद्ध ५० करोड ६० लाख भन्दा बढि र हदै सम्मको कैद सजायको माग दावी लिई सुन तस्करीमा संलग्न विभिन्न व्यक्तिहरु विरुद्ध मुद्धा दायर गरेको हो ।
विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरेले राजश्व छली गर्नेहरु विरुद्धको अनुसन्धान र कारवाही प्रक्रियालाई तीव्रता दिइएको बताए । महानिर्देशक घिमिरेले पछिल्ला केहि दिन यता विभिन्न राजश्व छली गर्नेहरु विरुद्ध मुद्धा दायर गरेर ६० करोड बढिको विगो दावी गरिएको जनाए । यसैगरी भन्सार जाँचपास भई आएका र ट्रान्सपोर्टका ढुवानी साधनको चेकजाँच गर्दा मूल्यांकन, वर्गीकरण , गुणस्तर , परिमाण, फरक पारी राजश्व चुहावट गरेको अभियोगमा विभिन्न फर्मलाई ८ करोड ३८ लाख जरिवाना तिराईको पनि विभागका महानिर्देशक घिमिरेले जानकारी दिए ।
विभागका अन्ुसार विभाग मातहतको पथलैया कार्यालयले जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी प्रतिवेदन समेत अनुसन्धानको लागि पेश भएको ८ हजार २ सय ४३ दशमलव ९७० ग्राम बिलविजक विनाको सुनमा राजश्व छली गर्नेहरु भारतीय नागरिकहरु अभिषेक अजिनाथ कुटे, राहुल विट्टल वाड,राहुल गोरख दगडे,हन्मन्त विदुल मोरे तथा नेपाली नागरिकहरु काभ्रेका आयुष सापकोटा, रविन्द्र वाइवा तामाङ र पर्वतका विनोद पुन विरुद्ध उच्च अदालत पाटन, हेटौडा इजलाशमा गत १८ पुषमा मुद्धा दर्ता गरिएको थियो । उनीहरु विरुद्ध विगो र विगो बराबरको जरिवाना गरी २४ करोड २५ लाख ८७ हजार ४ सय र हदै सम्मको कैद सजाय माग दावी गर्दै मुद्धा दर्ता गरिएको हो । यसैगरी विभागको पथलैया कार्यालयबाटै विल विजक विना ४९१.१३ ग्राम सुन तस्करी गर्ने भारतीय नागरिक सुजीत सराफ, सप्तरी बस्ने सोनी कुमारी शाह लगायतलाई विगो र जरिमाना सहित १ करोड ३४ लाख ८८ हजार र हदै सम्मको कैद सजायको माग दावी गर्दै अर्को मुद्धा दायर गरिएको छ ।
यसैगरी राजश्व अनुसन्धान विभागले गत ३ मंसिरमा जनकपुर भन्सार कार्यालय जनकपुर अन्तर्गत लग्मा जटही छोटी भन्सार कार्यालयब असोज ६ गते जाँचपास भएका विभिन्न ट्रकहरुमा भएका कुर्ता सुुरुवाल लगायतका मालवस्तुमा राजश्व छली गर्ने ३४ जना विरुद्ध मुद्धा दायर गरेको छ । यसरी मुद्धा दायर भएकामा भन्सार अधिकृत १ जना र ३ जना नायब सुव्वा समेत रहेका छन् । यसैगरी २५ जना पुर्व भारतीय सैनिकहरु विरद्ध पनि मुद्धा दायर गरिएको र उनीहरु विरुद्ध विगो र जरिवाना गरी १० करोड ७२ लाख ४ हजार ९ सय ३२ रुपैया माग दावी र कैद सजायको माग गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार सुन तथा सुनका गरगहना र चाँदी तथा चाँदीका गरगहनामा राजश्व छली गर्ने विरगञ्ज स्थित आरके एण्ड सन्स का प्रोपाइटर सन्दिप सर्राफलाई विगो र जरिवाना गरी २५ करोड ३४ लाख र हैद सम्मको कैद माग गर्दै उच्च अदालत जनकपुरको अस्थायी इजालाश वीरगञ्मा मुद्धा दायर गरिएको हो ।
विभागका महानिर्देशक घिमिरेले विभाग र मातहतका इटहरी, पथलैया, बुटवल र कोहलपुर कार्यालयले पनि राजश्व छली विरुद्धको कारवाहीलाई प्रभावकाकारी किसिमले अघि बढाइरहेको जानकारी दिनुभयो । विभागले राजश्व चुहावट नियन्त्रण गर्न प्रर्वधनात्मक निरोधात्मक र दण्डात्मक गरी ३ वटा रणनीति अख्तियार गरीरहेको महानिर्देशक घिमिरेले बताउनुभयो ।

२०८१ फाल्गुन ५, सोमबार १४:३३ प्रकाशित
ट्रेन्डिङ समाचार