काठमाडौं । अहिले तीनवटै सरकारमा गरी देशभरमा ९ हजार ४ सय ३३ वटा सरकारी कार्यालयहरु सञ्चालनमा रहेपनि ती कार्यालयबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन् ।
संघीय शासन प्रणाली स्थापना भएसँगै संघ, प्रदेश र स्थानीय गरी तीनवटा सरकार सञ्चालनमा रहेका र ती सरकार मातहत ९ हजार ४ सय ३३ सरकारी कार्यालय सञ्चालनमा रहेको राष्ट्रिय निजामती किताबखानाले जनाएको छ ।
देशभरमा त्यति धेरै सरकारी कार्यालयहरु भएपनि ती कार्यालयमा प्रभावकारी अनुगमन नहुने र काम नगर्ने माथि कारवाही समेत नहुँदा सेवा प्रवाह कमजोर हुदै गइरहेको प्रशासनविद्हरुको विश्लेषण छ । सरकारी सेवामा दण्डहीनता अत्याधिक मौलाउदो अवस्थामा रहेकाले पनि कर्मचारीहरुमा अराजक प्रवृत्ति हावी भएको र उनीहरुले प्रभावकारी सेवा दिन नसकेको बताइएको छ ।
किताबखानाका अनुसार केन्द्र सरकार मातहत रहेका सरकारी कार्यालयहरुको संख्या वर्षेनी घट्दो क्रममा रहेको छ भने प्रदेश र स्थानीय तह मातहत रहेका सरकारी कार्यालयहरुको संख्या भने बढ्दो क्रममा रहेको छ । यद्यपि सरकारी कार्यालय बढ्दो क्रममा रहेका स्स्थानीय सरकार र प्रदेश सरकारबाट दिने सेवा प्रवाह भने झनै कमजोर र सुस्त हुदै आइरहेको सेवाग्राहीको गुनासो हुने गरेको छ । किताबखानाका अनुसार आर्थिक वर्ष २०७९÷८० मा केन्द्र सरकार मातहत १८८६ वटा सरकारी कार्यालयहरु रहेका छन् भने प्रदेश सरकार मातहत ९४१ र स्थानीय सरकार अन्तर्गत ६ हजार ६ सय ६ वटा कार्यालयहरु रहेका छन् । पाँच वर्ष अघि आर्थिक वर्ष २०७६÷७७ मा जम्मा ९ हजार ५ सय ७४ वटा सरकारी कार्यालयहरु रहेका थिए ।
जसमध्ये केन्द्र अन्तर्गत २०४८ वटा तथा प्रदेश सरकार मातहत ९ सय २२ र स्थानीय तह अन्तर्गतका ६ हजार ६ सय ४ वटा कार्यालयहरु रहेका थिए । जस अनुसार वर्षेनी केन्द्रको कार्यालय घट्दो अवस्था देखिन्छ भने प्रदेश र स्थानीय तहमा कार्यालयहरु बढ्दो क्रममा रहेको देखिन्छ । ती कार्यालयमा सेवा प्रवाह गर्न तीन वटै सरकारमा गरी जम्मा ८५ हजार ५ सय २० जना कर्मचारीहरु खटिइरहेका छन् । जस अनुसार संघ सरकारमा ४१ हजार ५ सय ६३ कर्मचारी कार्यरत छन् भने प्रदेश सरकारमा ११ हजार १ सय ३८ र स्थानीय सरकारमा ३२ हजार ८ सय ८ कर्मचारी कार्यरत रहेको राष्ट्रिय किताबखानाले जनाएको छ । किताबखानाका अनु्सार कर्मचारी पनि संघ सरकारमा वर्षेनी कटौती हुदै गएका छन् ।
संघमा आर्थिक वर्ष २०७७÷७८ मा ४७ हजार ८ सय ७८ कर्मचारी रहेका थिए । जस अनुसार पाँच वर्षमा संघमा ५ हजार भन्दा बढि कर्मचारीको दरबन्दि कटौती गरिएको छ । तर स्थानीय तहमा भने पाँच वर्ष अघि ३० हजार २ सय कर्मचारी रहेकोमा हाल ३२ हजार ८ सय ८ जना कर्मचारी रहेका छन् । यसैगरी पाँच वर्ष अघि प्रदेश सरकारमा १० हजार ५ सय ५३ कर्मचारी रहेकोमा हाल बढेर ११ हजार १ सय ३८ पुगेको छ ।
हाल कहाँ कति कार्यालय ?
संघ : १८८६
प्रदेश : ९४१
स्थानीय : ६६०६
कहाँ कति कर्मचारी ?
संघ : ४१,५ ६३
प्रदेश : ११, १ ३८
स्थानीय : ३२,८०८


