काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा ऋण सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्र मन्त्रीहरूसँगको सामूहिक छलफलको क्रममा ओलीले यस्तो प्रतिबद्धता जनाएका हुन्। ्
सत्ताको मुख्य सहयोगी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित रहेको उक्त बैठकमा ओलीले यस्तो धारणा राखेका नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले बताए।
‘उहाँले यसपटकको भ्रमणमा म ऋण सम्झौता गर्दिनँ भन्नेजस्तो कुरा गर्नुभयो,’ खनालले भने।
चीनसँग बिआरआई अनुदानमा स्वीकार्ने सत्तारुढ कांग्रेसको धारणा छ भने एमालेले ऋणमा भए पनि लिनुपर्ने बताइरहेको थियो। सत्ताघटक कांग्रेसले असहमति जनाएपछि बिआरआई ऋणमा सम्झौता नगर्ने पक्षमा एमाले उभिएको छ।


