
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले मौद्रिक नीतिमा उत्पादनशील क्षेत्रले प्रथामिकता नपाएको बताएको छ ।
एक विज्ञप्ति जारी गर्दै सिएनआईले मौद्रिक नितिमाथि यस्तो टिप्पणी गरेको हो ।
नेपाल राष्ट्र बैंक पछिल्लो पटक केही लचक भएको देखिएपनि उत्पादनशील क्षेत्रले भने प्राथमिकता नपाएको उसको टिप्पणी छ ।
सिएनआइले भनेको छ- ‘नीतिगत दर घटाइनु सकारात्मक छ । यसले उत्पादन लागत घटाउन, प्रतिस्पर्धी क्षमता बढाउन सहयोग गर्छ । तर, बैंक दरमा प्रतिबिम्वित हुनेगरी केन्द्रिय बैंकले नीतिगत दरलाई प्रभावकारी बनाउनुपर्छ । ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ६.५ प्रतिशत र नीतिगत दर ५ प्रतिशत कायम गरिनु स्वागतयोग्य छ । तर बैंक तथा वित्तीय संस्थाहरु ‘टिएर वान क्यापिटल’ को दबाबमा हुँदा लक्ष्य प्राप्त गर्न सहज हुने नीति केन्द्रिय बैंकले लिनुपर्ने आवश्यकता देखिन्छ । ‘टिएर वान क्यापिटल’ सहज बनाउन अहिलेको अवस्थामा काउन्टर साइक्लिकल क्यापिटल बफर (सीसीबी) स्थगन गर्न अत्यावश्यक रहेकोमा मौद्रिक नीतिले यसलाई सम्बोधन गरेन । राष्ट्र बैंकले यसमा पुनर्विचार नगरे निजी क्षेत्रमा १२.५ प्रतिशतको कर्जा विस्तारको लक्ष्य हासिल हुन सम्भव देखिदैन् । हाल लागू ०.५ प्रतिशत सीसीबी अहिलेको अवस्थामा अनुपयुक्त रहेकाले स्थगन गर्नुपर्ने सुझाव परिसंघले दिएको थियो ।’