बैंकिङ प्रणालीबाट आज ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक


काठमाडौँ । बजारमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । २१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको माध्यमबाट राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने भएको हो ।

२०८१ साउन ९ गते मध्यान्ह ३ बजे अनलाइन विडिङमार्फत निक्षेप संकलनको बोलकबोल गर्ने जनाएको राष्ट्र बैंकले उक्त निक्षेपपत्रको आजै बिक्री गरिने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले ३ बजेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

निक्षेप सङ्कलन बोलकबोलमा भाग दिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोडदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।

पछिल्लो रिपोर्ट अनुसार बैंकहरुले ६४ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्दै गर्दा जम्मा ५१ खर्ब ४४ अर्ब रुपैयाँ मात्र कर्जा लगानी हुन सकेको छ । साउन २ गतेसम्म ७७.८७ प्रतिशत सीडी रेसियो (कर्जा निक्षेप अनुपात) कामय गरेका बैंकहरुले ६ खर्ब माथिको तरलता होल्ड गरेर बसेका छन् । यसले पनि केन्द्रीय बैंकले नियमित रुपमा निक्षेप सङ्कलन उपकरणमार्फत तरलता प्रशोचन गरिरहेको छ ।

२०८१ श्रावण ९, बुधबार १३:१५ प्रकाशित
ट्रेन्डिङ समाचार