काठमाडौं । नेकपा एमालेले मंसिर ५ गतेका लागि तय गरेको केन्द्रीय कमिटी बैठक एक दिनअघि सारेर मंसिर ४ गते बोलाउने निर्णय गरेको छ ।
मंगलबार बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।
बैठकले मंसिर २ र ३ गते हुने राष्ट्रिय भेलाका एजेण्डासमेत पारित गरेको छ । भेलामा मुख्यगरी आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टी संगठन परिचालनका विषयमा छलफल हुने भट्टले बताउनुभयो ।
राष्ट्रिय भेलामा अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामबारे कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राष्ट्रिय राजनीति र पार्टीका विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
यसैगरी, उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्ष, उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वको सरकारका पालामा भएका विकास निर्माणका कामको तथ्यांकसहित विवरण प्रस्तुत गर्नुहुनेछ । महासचिवले पार्टी शुद्धीकरण र सुदृढीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको भट्टले जानकारी दिनुभयो ।
भट्टका अनुसार राष्ट्रिय भेलामा पार्टी पुनर्गठनको विषयमा भने छलफल हुने छैन । उक्त विषय केन्द्रीय कमिटीले यसअघि नै टुंग्याइसकेको उहाँले बताउनुभयो ।




प्रतिक्रिया