काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफ्ती, आगजनी र लुटपाटमार्फत हटाइएको आरोप लगाउनुभएको छ ।
आइतबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले जेन–जी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानविन हुन नसकेको दाबी गर्नुभयो ।
उहाँले सरकारद्वारा गठित छानविन आयोग र राष्ट्रिय मानव अधिकार आयोगले घटनाको निष्पक्ष अनुसन्धान गर्नुको सट्टा आफूलाई आरोपित गर्ने उद्देश्य राखेको आरोप लगाउनुभयो ।
विदेशी सामाजिक सञ्जाल कम्पनीलाई नियमन गर्न खोजेको विषयमा तत्कालीन सञ्चारमन्त्रीमाथि कारबाही गर्नुपर्ने मानव अधिकार आयोगको निष्कर्षप्रति पनि उहाँले आपत्ति जनाउनुभयो । साथै, विघटित प्रतिनिधिसभासम्बन्धी मुद्दाको फैसलामा ढिलाइ गरेको भन्दै सर्वोच्च अदालतको आलोचना गर्नुभयो ।
अध्यक्ष ओलीले नेकपा (एमाले) लाई देशको निर्णायक राजनीतिक शक्तिका रूपमा विकास गर्ने अभियानमा आफूहरू अघि बढिरहेको बताउनुभयो ।




प्रतिक्रिया