काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ कडाइका साथ कार्यान्वयनमा आएको छ। ऐन कार्यान्वयनसँगै परीक्षण नगरिएका, अस्वस्थकर तथा खुला रूपमा काटिएका मासुको बिक्री–वितरणमा रोक लगाइने भएको छ।
पशु सेवा विभागका अनुसार पहिलो चरणमा काठमाडौं, ललितपुर र भक्तपुरका दुई महानगरपालिका, १६ नगरपालिका र तीन गाउँपालिकासहित २१ वटै स्थानीय तहमा ऐन लागू गरिएको हो।
ऐन कार्यान्वयनका लागि उपत्यकामा २४० जना मासु निरीक्षक, २५ जना सुपरिवेक्षक तथा १२ वटा विशेष टास्क फोर्स परिचालन गरिनेछ। अब पशु वध गर्नुअघि स्वास्थ्य परीक्षण गर्नुपर्ने र वधपछि मासुको गुणस्तर जाँच गरी प्रमाणित छाप लगाएपछि मात्र बिक्री गर्न पाइनेछ।
रोगी तथा मरेका पशुपन्छीको मासु बिक्री गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। साथै मासुमा मिसावट गर्ने, तौल बढाउन अन्य पदार्थ मिसाउने तथा एउटा पशुको मासुमा अर्को पशुको मासु मिसाउने कार्यसमेत निषेध गरिएको छ।
ऐनअनुसार अनुमति बिना वधशाला सञ्चालन तथा मासु बिक्री गर्ने र अस्वस्थकर मासु बेच्ने व्यवसायीलाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना, एकदेखि तीन महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
सरकारले आगामी माघ १ गतेदेखि उपत्यकाबाहिरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा तथा आगामी आर्थिक वर्षको साउन १ गतेदेखि देशभरका गाउँपालिकामा समेत ऐन अनिवार्य लागू गर्ने तयारी गरेको छ।




प्रतिक्रिया