काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवश्यक परे जुनसुकै बेला सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई मानसिक र सांगठनिक रूपमा तयार रहन निर्देशन दिनुभएको छ।
आइतबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिक परिस्थितिअनुसार तत्काल आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने बताउनुभयो। उहाँले आन्दोलनका लागि लामो तयारी नै आवश्यक नपर्ने भन्दै पार्टीपंक्तिलाई सधैं तयारी अवस्थामा रहन आग्रह गर्नुभयो।
सन् १९१७ को रुसी विद्रोहको उदाहरण दिँदै ओलीले निर्वाचन, जनविद्रोह तथा विभिन्न आन्दोलनबाट राजनीतिक परिवर्तन सम्भव हुने उल्लेख गर्नुभयो। उहाँले एमालेले विगतदेखि नै विभिन्न चुनौती र दमनको सामना गर्दै आएको भन्दै पार्टीलाई थप सशक्त बनाएर अघि बढ्नुपर्ने बताउनुभयो।
अध्यक्ष ओलीले मुलुकमा नागरिकको निराशा र बेचैनी बढिरहेको भन्दै एमाले वैचारिक रूपमा स्पष्ट भएर जनपक्षीय आन्दोलनको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो। साथै, पार्टी निर्माण गरेर मात्र निर्वाचनमा जाने नभई पार्टीको संगठन र शक्तिसहित निर्वाचनमा होमिनुपर्ने उहाँको भनाइ थियो।




प्रतिक्रिया