ADVERTISEMENT

भन्सार जाँचपासमै गम्भीर आशंका : सुन्तलाको कागजमा केरा, आरोही इन्टरप्राइजेजका तीन ट्रकमाथि प्रश्न

काठमाडौं ।  वीरगन्ज भन्सारबाट सुन्तलाको प्रज्ञापनपत्रमा केरा समेत ढुवानी भएको आशंकामा ठूलो अनियमितताको विषय सार्वजनिक भएको छ। काठमाडौंको जडीबुटीमा प्रहरीले नियन्त्रणमा लिएको भारतीय ट्रकमा ४०० क्यारेट सुन्तला र २०० क्यारेट केरा फेला परेका छन्।

आरोही इन्टरप्राइजेज, वीरगन्ज–२५ श्रीसियाको नाममा जाँचपास भएको UP 25 FT 3659 नम्बरको ट्रकमा सुन्तलाको कागजात देखाएर केरा ल्याइएको आशंका गरिएको हो।

यसैबीच, सोही कम्पनीसँग सम्बन्धित थप दुई भारतीय नम्बर प्लेटका ट्रक वीरगन्ज भन्सार परिसरमा रोकिएको बताइएको छ। MH30CE0083 र UK04CC2831 नम्बरका ती ट्रकले भन्सार प्रक्रिया पूरा गरी गेटपाससमेत लिइसकेको स्रोतको दाबी छ।

ती ट्रकमा पनि केरा तथा अन्य फलफूल रहेको र वास्तविक तौलभन्दा कम विवरण देखाइएको हुन सक्ने आशंका गरिएको छ।

एउटा ट्रक काठमाडौंमा पक्राउ परेपछि थप दुई ट्रकमाथि समेत शंका बढेको हो। अब भन्सार कार्यालयले तीनवटै ट्रकको सामान, तौल र कागजात परीक्षण गरी जाँचपास प्रक्रियामा संलग्न पक्षको भूमिका स्पष्ट पार्नुपर्ने देखिएको छ। घटनाबारेका आशंका भने अनुसन्धानबाट पुष्टि हुन बाँकी छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार