काठमाडौं । विचौलिया इनम सापकोटासँग जोडिएका विषयमा सार्वजनिक भइरहेका समाचार र सर्वोच्च अदालतका न्यायाधीशलाई लिएर उठेका प्रश्नबारे गम्भीर छलफल गर्दै सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले पाँचवटा निर्णय गरेको छ।
सोमबार करिब चार घण्टा बसेको पूर्ण बैठकले सार्वजनिक रूपमा प्रकाशित तथा प्रसारित विषयमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, संविधान र कानुनबमोजिम हुने अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै न्यायिक काममा विचलित नहुन मातहतका अदालतका न्यायाधीश तथा कर्मचारीलाई आह्वान गरेको छ।
सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार क्षेत्रीका अनुसार सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारका विषयमा पूर्ण बैठकमा छलफल भएको थियो। बैठकले संविधानको सर्वोच्चता र कानुनको शासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै पाँचवटा निर्णय सार्वजनिक गरेको हो।
फुलकोर्टका पाँच निर्णय
१. संविधानको सर्वोच्चता र कानुनको शासनप्रति प्रतिबद्धता
पूर्ण बैठकले संविधानको सर्वोच्चता र कानुनको शासनप्रति आफूहरू दृढ रहेको स्पष्ट पारेको छ।
‘संविधान र कानुनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिबद्धता हो। यसमा हामी अडिग र स्पष्ट छौं,’ निर्णयमा भनिएको छ, ‘संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गर्दछौं।’
२. सार्वजनिक भएका विषयमा निष्पक्ष छानबिन गर्न आग्रह
सर्वोच्चले सार्वजनिक रूपमा प्रकाशित तथा प्रसारित विषयमा पूर्वाग्रहविना स्वतन्त्र र निष्पक्ष छानबिन गरी तथ्य र प्रमाणसहितको निष्कर्ष सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
‘सार्वजनिक रूपमा प्रकाशित र प्रसारित विषयका सम्बन्धमा बिना पूर्वाग्रह, निष्पक्ष एवं स्वतन्त्र ढंगबाट संविधान र कानुनबमोजिम छानबिन गरी सत्य, तथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बद्ध निकायलाई आग्रह गर्दछौं,’ दोस्रो निर्णयमा भनिएको छ।
३. अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता
इनम सापकोटासँग जोडिएका विषयमा हुने छानबिन तथा अनुसन्धानमा कानुनबमोजिम सहयोग गर्न सर्वोच्च अदालतले प्रतिबद्धता जनाएको छ।
‘सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारण भइरहेका समाचारका सम्बन्धमा संविधान र कानुनबमोजिम हुने छानबिन र अनुसन्धानमा कानुनबमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहिता एवं सहयोग गर्ने कुरामा हामी प्रतिबद्ध छौं,’ निर्णयमा उल्लेख छ।
४. न्यायिक काममा संस्थागत प्रतिबद्धता
पूर्ण बैठकले न्यायिक कार्यलाई संविधान, कानुन र संस्थागत जिम्मेवारीअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
५. न्यायिक कार्यमा विचलित नहुन न्यायाधीश तथा कर्मचारीलाई आग्रह
सार्वजनिक रूपमा प्रकाशित तथा प्रसारित समाचारबाट प्रभावित वा विचलित नभई नियमित न्यायिक काममा सक्रिय रहन मातहतका सबै अदालतमा कार्यरत न्यायाधीश तथा कर्मचारीलाई सर्वोच्चले आग्रह गरेको छ।
‘प्रकाशित र प्रसारित समाचारबाट विचलित नभई सदा झैं न्यायिक कार्यमा क्रियाशील रहन सबै अदालतहरूमा कार्यरत सम्पूर्ण न्यायकर्मीहरूलाई आग्रह गर्दछौं,’ पाँचौं निर्णयमा भनिएको छ।
इनम सापकोटासँग जोडिएका विषय सार्वजनिक भएपछि न्यायिक क्षेत्रमाथि उठेका प्रश्न, निष्पक्ष अनुसन्धानको माग र न्यायालयको संस्थागत प्रतिबद्धताका सन्दर्भमा सर्वोच्चको पूर्ण बैठकका निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ।




प्रतिक्रिया