ADVERTISEMENT

नवरात्रको नवौँ दिन :दुई दिन महाअष्टमी, दुवै दिन पूजा गर्नुपर्ने

काठमाडौँ । यस वर्ष तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको पूजा तथा कर्म गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

 

समितिबाट स्वीकृत पात्रोअनुसार कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी परेको छ। समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठका धर्मशास्त्र विभाग प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक १ गते गरिएको महाअष्टमीको पूजा तथा अन्य कर्म कात्तिक २ गते पनि दोहोर्‍याउनुपर्नेछ।

 

कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा गर्नुपर्नेछ। आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने समितिले जनाएको छ।

 

अष्टमी दुई दिन परेकाले यस वर्ष नवरात्र दशरात्र बनेको छ। विजयादशमीमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइनेछ। हनुमानढोका दरबारको दसैँघरमा आइतबार सामान्य पूजा गरिएको र मूल पूजा सोमबार गरिने दरबार हेरचाह अड्डाले जनाएको छ। महाअष्टमीको राति हनुमानढोकामा १०८ पशु बलिसहित पूजा गर्ने परम्परा छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार