काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीको रजिस्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा असोज १९ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण स्वीकृत गरेको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ। कम्पनीको नियमावलीअनुसार गरिएको सञ्चालक नियुक्तिको अनुमोदनसमेत साधारणसभाबाट भएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलले सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति, शेयर रजिस्ट्रार तथा डिम्याट खातासम्बन्धी सेवासहित विभिन्न पुँजी बजारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।
कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ। कम्पनीको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन्।
काठमाडौं उपत्यकाबाहिरका लगानीकर्तालाई समेत पुँजी बजारमा प्रत्यक्ष सहभागी हुन सहज पहुँच उपलब्ध गराउने उद्देश्यले सिटिजन्स क्यापिटलले सिटिजन्स बैंक इन्टरनेसनलका देशभरका विभिन्न शाखा कार्यालयमार्फत आफ्ना सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
कम्पनीले देशका विभिन्न क्षेत्रका लगानीकर्तालाई पुँजी बजार तथा व्यवस्थित लगानी सेवामा सहज पहुँच प्रदान गर्नुका साथै दीर्घकालीन र अनुशासित लगानी संस्कृतिको विकासमा योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ।





प्रतिक्रिया