काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी सन् २०२७ अप्रिल २ र ३ तारिखमा काठमाडौंमा ‘अर्थशास्त्र तथा वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्ने भएको छ।
‘आर्थिक वृद्धि र बृहत्–वित्तीय स्थायित्वः जोखिम र चुनौतीहरू’ नारासहित आयोजना हुने सम्मेलनका लागि राष्ट्र बैंकले विश्वभरका नीति–निर्माता, वित्तीय अभ्यासकर्ता तथा अनुसन्धानकर्ताबाट अनुसन्धानमूलक कार्यपत्र आह्वान गरेको छ।
सम्मेलनमा आर्थिक वृद्धि तथा विकास, अन्तर्राष्ट्रिय व्यापार, वित्त तथा लगानी, बृहत्–वित्तीय अन्तरसम्बन्ध, मौद्रिक नीति, वित्तीय स्थायित्व, वित्तीय नवप्रवर्तन तथा उत्थानशीलताजस्ता विषयमा कार्यपत्र प्रस्तुत गर्न सकिनेछ। डिजिटल मुद्रा (CBDC), आर्टिफिसियल इन्टेलिजेन्स, वित्तीय प्रविधि र हरित वित्तसम्बन्धी कार्यपत्रलाई पनि प्राथमिकता दिइने राष्ट्र बैंकले जनाएको छ।
कार्यपत्र पेश गर्न इच्छुक अनुसन्धानकर्ताले २०२७ जनवरी ३१ भित्र पूर्ण कार्यपत्र इमेलमार्फत पठाउनुपर्नेछ। सारांश मात्र स्वीकार नहुने तथा कार्यपत्र मौलिक र अन्यत्र प्रकाशित नभएको हुनुपर्नेछ।
विज्ञ समूहबाट ‘पियर–रिभ्यु’पछि उत्कृष्ट कार्यपत्र छनोट गरिनेछ भने स्वीकृत कार्यपत्रको जानकारी फेब्रुअरी २०, २०२७ मा दिइनेछ। सम्मेलनमा प्रस्तुतकर्ता वा सहभागीका रूपमा भाग लिन कुनै दर्ता शुल्क लाग्ने छैन। इच्छुकले मार्च ३, २०२७ भित्र अनलाइन फाराम भर्नुपर्नेछ।
स्वीकृत सबै कार्यपत्र राष्ट्र बैंकको वेबसाइटमा ‘कन्फरेन्स प्रोसिडिङ्स’का रूपमा प्रकाशित गरिने जनाएको छ।





प्रतिक्रिया