ADVERTISEMENT

रसुवाको बाढीबाट १.६६ अर्ब डलरको भौतिक क्षति, पुनर्निर्माणमा ४.८ अर्ब डलर आवश्यक


काठमाडौं । रसुवाको रसुवागढी क्षेत्रबाट सुरु भएर भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा फैलिएको बाढीबाट नेपालमा १ अर्ब ६६ करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष भौतिक क्षति भएको विश्व बैंकले जनाएको छ।

विश्व बैंकको ‘नेपाल डेभलपमेन्ट अपडेट–अक्टोबर २०२६’ अनुसार प्रत्यक्ष क्षतिको ८३ प्रतिशत पूर्वाधार क्षेत्रमा परेको छ। आवासीय भवनमा ११ प्रतिशत र गैरआवासीय भवनमा ६ प्रतिशत क्षति भएको अनुमान छ। सरकारको प्रारम्भिक मूल्यांकनले भौतिक क्षति १ अर्ब ८१ करोड डलर र कुल आर्थिक प्रभाव करिब २ अर्ब ७० करोड डलर पुगेको देखाएको छ।

बाढीबाट क्षतिग्रस्त संरचना तथा उत्पादन क्षमता पुनःस्थापना र पुनर्निर्माणका लागि करिब ४ अर्ब ८० करोड डलर आवश्यक पर्ने प्रारम्भिक अनुमान छ। यसको ठूलो हिस्सा पूर्वाधार क्षेत्रमा खर्च हुने देखिएको छ।

ऊर्जा, सडक तथा पुल क्षेत्रमा बाढीको ठूलो असर परेको छ। १२ जलविद्युत् आयोजना प्रभावित भएका छन् भने २५ मेगावाटको सौर्य आयोजना र प्रसारण पूर्वाधारमा समेत क्षति पुगेको छ। गल्छी–रसुवागढी सडकखण्डको ५५ किलोमिटरभन्दा बढी सडक क्षतिग्रस्त भएको तथा ३७ मोटरेबल र ६८ झोलुंगे पुलमा क्षति पुगेको विश्व बैंकले जनाएको छ।

बाढीले नेपाल–चीन व्यापार, पर्यटन, उद्योग, यातायात तथा स्थानीय जीविकोपार्जनमा समेत असर पारेको छ। प्रभावित क्षेत्रमा २०० भन्दा बढी होटल तथा रेस्टुरेन्टमा क्षति पुगेको अनुमान छ।

विश्व बैंकले क्षतिग्रस्त संरचना पुरानै स्थानमा पुनर्निर्माण गर्नु मात्र पर्याप्त नहुने भन्दै ‘बिल्ड डिफरेन्ट्ली’ अवधारणाअनुसार जोखिमलाई ध्यानमा राखेर पुनर्निर्माण गर्न सुझाव दिएको छ। सडक, पुल, विद्युत् र सञ्चारजस्ता अत्यावश्यक पूर्वाधारमा वैकल्पिक मार्ग तथा प्रणाली विकास गर्नुपर्नेमा पनि जोड दिइएको छ।

बाढीका कारण चालु आर्थिक वर्षमा नेपालको वास्तविक आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण छ। पुनर्निर्माण तीव्र भए आर्थिक वर्ष २०८४/८५ मा वृद्धिदर ५.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

विश्व बैंकले भविष्यमा हुने क्षति कम गर्न बहुजोखिम मूल्यांकन, प्रारम्भिक चेतावनी प्रणाली, सीमापार सूचना आदानप्रदान तथा सामाजिक सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार