ADVERTISEMENT

रत्नपार्क–भक्तपुर मेट्रो सन् २०४० सम्म सञ्चालन गर्ने लक्ष्य


काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाको ट्राफिक जाम, वायु प्रदूषण र सार्वजनिक यातायातको समस्या समाधान गर्न रत्नपार्क–भक्तपुर मेट्रो रेल परियोजना अघि बढाउने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक तथा आर्थिक सहयोगमा तयार गरिएको ‘काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना २०५०’ मा करिब १६.५ किलोमिटर लामो मेट्रो निर्माण गर्ने प्रस्ताव गरिएको हो।

गुरुयोजनाअनुसार रत्नपार्क र कोटेश्वर क्षेत्रमा मेट्रो भूमिगत तथा अरनिको राजमार्ग र भक्तपुरतर्फको अधिकांश खण्डमा एलिभेटेड संरचनामार्फत सञ्चालन गर्ने प्रस्ताव छ। रत्नपार्क क्षेत्रमा पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणका लागि टनेल बोरिङ प्रविधिबाट सुरुङ निर्माण गरिनेछ।

योजनाले सन् २०३२ सम्म विस्तृत सम्भाव्यता अध्ययन, डीपीआर, वातावरणीय तथा सम्पदा प्रभाव मूल्याङ्कन, लगानी सुनिश्चितता र ठेक्का प्रक्रिया पूरा गरी सन् २०४० सम्म मेट्रो सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।

गुरुयोजनामा मेट्रोका प्रमुख स्टेसन आसपास ट्रान्जिट–ओरिएन्टेड डेभलपमेन्ट (टीओडी) हब विकास गर्ने, पार्क एन्ड राइड सुविधा विस्तार गर्ने तथा मेट्रोसँग जोडिने फिडर बस प्रणाली सञ्चालन गर्ने प्रस्ताव पनि गरिएको छ।

त्यस्तै, उपत्यकाका सार्वजनिक यातायात सञ्चालकलाई पुनर्संरचना गरी ठूला विद्युतीय बस सञ्चालन गर्ने र रेल तथा बसमा एउटै स्मार्ट कार्ड वा मोबाइल एपबाट भाडा तिर्न सकिने एकीकृत यातायात प्रणाली विकास गर्ने योजना छ।

मेट्रो निर्माणका क्रममा पुरातात्विक सम्पदा, परम्परागत पानीका स्रोत तथा स्थानीय बासिन्दाको पुनर्स्थापनालाई विशेष प्राथमिकता दिइने गुरुयोजनामा उल्लेख छ। मेट्रो सञ्चालनमा आएपछि सन् २०५० सम्म वार्षिक करिब १ लाख ५९ हजार टन कार्बन उत्सर्जन घटाउने लक्ष्यसमेत राखिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार