ADVERTISEMENT

बैंकमा म्युचुअल फन्डको १४ अर्ब ७२ करोड, भदौमा ८७ करोड घाटा


काठमाडौं । म्युचुअल फन्डहरूले सेयर बजारमा लगानी गर्ने रकमको ठूलो हिस्सा बैंकमा राखेका छन्। भदौसम्म ६० वटा म्युचुअल फन्डको बैंक मौज्दात १४ अर्ब ७२ करोड रुपैयाँभन्दा बढी पुगेको छ। साउनमा यस्तो मौज्दात १४ अर्ब ३१ करोड रुपैयाँ थियो।

एक महिनामा फन्डहरूको बैंक मौज्दात करिब ४१ करोड रुपैयाँले बढेको हो। यस्तै, फन्डहरूले समग्रमा ८४ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपमा राखेका छन्।

जानकारहरूका अनुसार बजार साइडवेज अवस्थामा रहेकाले फन्डहरूले तत्काल ठूलो लगानी नगरी उपयुक्त अवसर पर्खिरहेका हुन सक्छन्। यद्यपि बैंकमा रहेको सबै रकम सेयर खरिदका लागि मात्रै छुट्याइएको भने हुँदैन। फन्डहरूले दैनिक कारोबार तथा भविष्यमा सेयर खरिद गर्न आवश्यक पर्ने रकम व्यवस्थापनका लागि समेत बैंकमा तरलता राख्ने गर्छन्।

पछिल्लो समय नयाँ म्युचुअल फन्ड थपिँदै जानु पनि बैंक मौज्दात बढ्नुको अर्को कारण मानिएको छ। नयाँ फन्डले लगानी सुरु गर्नुअघि संकलित रकम बैंकमै राख्ने भएकाले त्यसको प्रभाव समग्र मौज्दातमा देखिन सक्छ।

भदौसम्म ६० वटा म्युचुअल फन्डको सेयर बजारमा लगानी ६७ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। साउनमा यस्तो लगानी ६८ अर्ब २० करोड रुपैयाँ थियो। बजार साइडवेज रहे पनि फन्डहरूको दोस्रो बजारमा सक्रियता भने देखिएको छ।

यता, बैंकको मुद्दती निक्षेपमा ब्याजदर कम रहेकाले फन्डहरूले त्यहाँ रकम राखेर आकर्षक प्रतिफल लिन सक्ने अवस्था नरहेको जानकारहरू बताउँछन्। त्यसैले मुद्दती निक्षेपबाट रकम झिकेर अन्य लगानीका अवसर खोज्ने क्रमसमेत बढेको छ।

भदौमा म्युचुअल फन्डहरूले समग्रमा ८७ करोड १४ लाख रुपैयाँ घाटा व्यहोरेका छन्। साउनमा यस्तो घाटा ४९ करोड ६९ लाख रुपैयाँ थियो। भदौको घाटामा एचएलआई लार्ज क्याप फन्डको ठूलो घाटाको प्रभाव देखिएको छ। उक्त फन्डले मात्रै ७३ करोड २४ लाख रुपैयाँभन्दा बढी घाटा व्यहोरेको छ।

तथ्यांकअनुसार ६० मध्ये ३० वटा म्युचुअल फन्ड नाफामा छन् भने बाँकी ३० वटा घाटामा रहेका छन्। सेयर बजारमा अपेक्षित वृद्धि हुन नसक्दा फन्डहरूको लगानीको मूल्यमा समेत त्यसको असर परेको देखिन्छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार