ADVERTISEMENT

हुम्ला–मुगु बत्ती विस्तारमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिका–कुकुरफाल्ना छहराखेतदेखि मुगुको सोरू गाउँपालिका–३ भिईसम्म बत्ती विस्तार गर्ने आयोजनामा भ्रष्टाचार गरेको आरोपमा ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले आर्थिक वर्ष २०७७/७८ मा खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुमार्फत सञ्चालन भएको उक्त आयोजनामा वास्तविक कामभन्दा बढी मूल्यांकन गरी सरकारी रकम हिनामिना गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित ८ जनाविरुद्ध बुधबार मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार आयोजनामा नापी किताब, कार्यसम्पन्न प्रतिवेदन, झुट्टा उपभोक्ता भुक्तानी बिल तथा अनुगमन प्रतिवेदन तयार गरी ९ लाख २६ हजार २३२ रुपैयाँ बराबरको सरकारी रकम हिनामिना गरिएको थियो ।

यस प्रकरणमा तत्कालीन कार्यालय प्रमुख रिमाल, तत्कालीन सब–इन्जिनियर विश्वराज भण्डारी र तत्कालीन लेखापाल रुनबहादुर सेजुवाललाई मुख्य कसुरदारका रूपमा आरोप लगाइएको छ । आयोगले उनीहरूविरुद्ध बिगो असुल, कैद तथा जरिवानाको मागदाबी गरेको छ ।

त्यस्तै, झुट्टा कागजातका आधारमा भुक्तानी सिफारिस गरेको आरोपमा सोरू गाउँपालिका–३ का तत्कालीन वडा अध्यक्ष लालु धामीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

आयोगले गैरकानुनी लाभ लिएको आरोपमा उपभोक्ता समितिका अध्यक्ष प्रदीप बुढा, उपाध्यक्ष भीमचन्द्र बुढा, सचिव धनराज बुमी र कोषाध्यक्ष लक्ष्मी धामीलाई समेत प्रतिवादी बनाएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार प्रतिवादी सबैबाट बिगोबमोजिम कैद तथा जरिवाना सजायको मागदाबी गरिएको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार