काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट उक्त रकम सहयोग गरेको हो। बैंक सञ्चालक समितिका सदस्य अमृत लम्सालले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ३ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट रसुवा र नुवाकोटका विभिन्न स्थानमा ठूलो धनजनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै बैंकले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।
बैंकले आगामी दिनमा पनि राष्ट्रिय विपद्का समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिने जनाएको छ।


