रसुवाको बाढीले विद्युत् आयोजनामा क्षति, आपूर्ति प्रभावित


काठमाडौं । रसुवामा बुधबार आएको बाढीले जलविद्युत् आयोजना, सबस्टेसन तथा प्रसारण र वितरण संरचनामा क्षति पुर्‍याएपछि रसुवा र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्र र त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ। त्रिशूली र देवीघाट जलविद्युत् केन्द्र तथा विभिन्न वितरण संरचनासमेत प्रभावित भएका छन्।

प्राधिकरणले क्षतिको विवरण संकलन गर्दै विद्युत् आपूर्ति नियमित गर्न प्रयास भइरहेको जनाएको छ। बाढीले घर, सडक र पुललगायतका संरचनामा समेत क्षति पुर्‍याएको प्रारम्भिक जानकारी दिइएको छ।

बाढीको जोखिम कायमै रहेकाले नदी तथा खोलाको आसपास र जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

२०८३ भाद्र १०, बुधबार ११:१६ प्रकाशित
ट्रेन्डिङ समाचार