इमरानको स्वास्थ्यबारे २१ पूर्वकप्तानले शहबाजलाई पत्र


काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पूर्वक्रिकेटर इमरान खानको स्वास्थ्य अवस्थालाई लिएर क्रिकेट जगतका २१ जना पूर्वकप्तानले प्रधानमन्त्री शहबाज शरीफलाई पत्र लेखेका छन् ।

पूर्वकप्तानहरूले इमरानलाई अदालतको आदेशअनुसार उचित स्वास्थ्य उपचार तथा आवश्यक चिकित्सा सुविधा उपलब्ध गराउन माग गरेका छन् । उनीहरूले सर्वोच्च अदालतको आदेशअनुसार इमरानका निजी चिकित्सक र बहिनी डा. उज्मा खानसमेत सहभागी मेडिकल बोर्डबाट स्वास्थ्य परीक्षण हुनुपर्ने बताएका छन् ।

क्रिकइन्फोका अनुसार, पूर्वकप्तानहरूले इमरानलाई अस्पतालमा केही घण्टामात्र राखेर सरकारले नियुक्त गरेको टोलीबाट स्वास्थ्य परीक्षण गराइएको दाबी गरेका छन् । उक्त टोलीले इमरानलाई ‘चिकित्सकीय रूपमा स्वस्थ’ घोषणा गर्दै पुनः अदियाला जेल पठाएको उनीहरूको भनाइ छ ।

प्रधानमन्त्री शहबाजलाई पूर्वकप्तानहरूले पठाएको यो दोस्रो पत्र हो । यसअघि गत १४ फेब्रुअरीमा १४ जना पूर्वकप्तानले इमरानको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै पत्र लेखेका थिए ।

पत्र लेख्ने २१ पूर्वकप्तानमा माइकल एथर्टन, एलन बोर्डर, माइकल ब्रियरली, ग्रेग च्यापेल, इयान च्यापेल, बेलिन्डा क्लार्क, एलेस्टर कुक, सुनील गावस्कर, एडम गिलक्रिस्ट, डेभिड गावर, नासिर हुसेन, क्लाइभ लोयड, कपिल देव, अर्जुना रणतुंगा, एन्ड्र्यु स्ट्रस, स्टिभ व र अन्य पूर्वकप्तान छन् ।

२०८३ भाद्र ८, सोमबार १२:०५ प्रकाशित
ट्रेन्डिङ समाचार