तातोपानी नाका डेढ महिनादेखि बन्द, दसैँ–तिहारको व्यापार प्रभावित हुने जोखिम


काठमाडौं। लगातारको पहिरोका कारण चीनसँगको नेपालको प्रमुख व्यापारिक नाका तातोपानी करिब डेढ महिनादेखि बन्द हुँदा नेपाल र चीन दुवैतर्फ मालवाहक कन्टेनर अलपत्र परेका छन्।

चीनतर्फ भन्सार प्रक्रिया पूरा गरेका करिब ८५ वटा मालवाहक गाडी नाका पार गर्न नसकी रोकिएका छन् भने नेपाल भित्रिएका कैयौँ कन्टेनरसमेत सुख्खा भन्सारसम्म पुग्न सकेका छैनन्। लिपिङ क्षेत्रमा सडकको ठूलो हिस्सा बगेकाले तत्काल पूर्ण रूपमा नाका सञ्चालनमा ल्याउन कठिन रहेको अधिकारीहरूले बताएका छन्।

नाका बन्द हुँदा चीनबाट दसैँ–तिहारका लागि ल्याइने तयारी पोसाक, इलेक्ट्रोनिक्स, फलफूल तथा तरकारीलगायत सामानको आपूर्ति प्रभावित हुने जोखिम बढेको छ। व्यवसायीका अनुसार वैकल्पिक समुद्री मार्ग प्रयोग गर्दा सामान काठमाडौं आइपुग्न डेढ महिनासम्म लाग्न सक्छ।

सडक विभागले वर्षा कम भएपछि पहिरो व्यवस्थापन गरी अस्थायी रूपमा सडक सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। दीर्घकालीन रूपमा पहिरो स्थिरीकरणका लागि चीन सरकारसँगको सहकार्यमा अध्ययनसमेत भइरहेको छ।

तातोपानी भन्सारले चालु आर्थिक वर्षमा २५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। तर नाका लामो समय बन्द रहँदा व्यापारसँगै राजस्व लक्ष्यसमेत प्रभावित हुने जोखिम देखिएको छ।

२०८३ भाद्र ८, सोमबार ०७:३६ प्रकाशित
ट्रेन्डिङ समाचार