काठमाडौँ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले पार्टी सञ्चालन पद्धति र नेपालको वामपन्थी आन्दोलनको अवस्थाप्रति असन्तुष्टि जनाएका छन्।
सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै बास्कोटाले पार्टी कुनै व्यक्तिको निजी ‘मौजा’ नभएको बताएका छन्। उनले नेतृत्वमा रहनेहरूले आफू कमजोर हुँदा अधिकारको कुरा गर्ने र बलियो भएपछि अरूको आवाजलाई ‘अराजकता’ भन्ने प्रवृत्ति देखाउने गरेको टिप्पणी गरेका छन्।
बास्कोटाले नेपालको समग्र वामपन्थी आन्दोलनको वर्तमान अवस्थाप्रति पनि चिन्ता व्यक्त गरेका छन्। उनले अहिलेका वामपन्थी पार्टीहरू २०१७ देखि २०२७ सालसम्मको जस्तै अन्योल र दिशाहीन अवस्थामा पुगेको दाबी गरेका छन्।
उनले वामपन्थी पार्टीहरू अहिले ‘क्रसरोडमा उभिएको यात्री’ जस्तो अवस्थामा रहेको उल्लेख गर्दै आगामी राजनीतिक दिशा स्पष्ट गर्नुपर्ने संकेत गरेका छन्।
२०८३ भाद्र ७, आईतवार १०:२३ प्रकाशित


