काठमाडौं । लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेको अध्यक्षतामा शुक्रबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले तीन वरिष्ठ सहसचिवलाई सचिव पदमा बढुवाका लागि सरकारसमक्ष सिफारिस गरेको छ ।
समितिले वरिष्ठ सहसचिवहरू इन्दु घिमिरे, श्रीकृष्ण नेपाल र नारायणप्रसाद भट्टको नाम सचिव बढुवाका लागि सिफारिस गरेको हो ।
हाल प्रशासनतर्फ सात सचिव पद रिक्त रहेका छन् । रिक्त पदमा सचिव पदपूर्ति गर्ने प्रक्रिया अघि बढाउने क्रममा बढुवा सिफारिस समितिले पछिल्लो समय बैठकलाई तीव्रता दिँदै आएको छ ।
शुक्रबारको सिफारिसपछि अब मन्त्रिपरिषद् बैठकले तीनमध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ । सिफारिस सूचीको वरियताक्रममा पहिलो नम्बरमा रहेकी इन्दु घिमिरे नै सचिवमा बढुवा हुने सम्भावना बलियो रहेको छ ।
पछिल्ला वर्षहरूमा सचिव बढुवा सिफारिस समितिले सिफारिस गरेका नाममध्ये वरियताक्रममा पहिलो नम्बरमा रहेकालाई नै सरकारले सचिवमा बढुवा गर्दै आएको छ । सोही अभ्यासलाई निरन्तरता दिइएमा घिमिरे सचिव बन्नेछिन् ।
सरकारले शुक्रबार सिफारिस भएका तीनमध्ये एक जनालाई सचिवमा बढुवा गरेलगत्तै पुनः अर्को रिक्त पदका लागि बढुवा सिफारिस समितिको बैठक बस्ने तयारी गरेको छ ।
समितिका एक सदस्यका अनुसार रिक्त रहेका सबै सचिव पद क्रमशः पूर्ति गर्ने गरी सिफारिस प्रक्रिया अघि बढाइनेछ । “एउटा पदमा बढुवा भएपछि फेरि अर्को रिक्त पदका लागि सिफारिस गर्ने क्रमलाई निरन्तरता दिइनेछ,” ती सदस्यले प्रशासनपोस्टसँग भने ।
सचिवका सात पद रिक्त रहेकाले अबको केही समय सचिव बढुवा प्रक्रिया निरन्तर अघि बढ्ने देखिएको छ ।


