बेलौरीमा शिक्षिका पशुपती बम जोशी मृत फेला, माइती पक्षद्वारा हत्याको आशंका


काठमाडौँ । कञ्चनपुरको बेलौरी नगरपालिका–८ मा ३५ वर्षीया शिक्षिका पशुपती बम जोशी उखुबारीमा मृत फेला परेकी छन्। डोटीको एक विद्यालयमा कार्यरत जोशी साउन २७ गते माइतीघर धनगढीबाट बेलौरीस्थित घर पुगेकी थिइन्। त्यसको भोलिपल्ट घरबाट करिब तीन किलोमिटर टाढाको उखुबारीमा उनको शव फेला परेको हो।

मृतकका माइती पक्षले घटनाको प्रकृति शंकास्पद रहेको भन्दै आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी गरेका छन्। उनीहरूले श्रीमान् हेमराज जोशीले ‘जात नमिल्ने’ भन्दै अर्को विवाह गर्ने धम्की दिँदै लामो समयदेखि मानसिक तथा शारीरिक यातना दिने गरेको आरोप लगाएका छन्। निष्पक्ष अनुसन्धानको माग गर्दै माइती पक्षले श्रीमान्सहित सासू–ससुराविरुद्ध प्रहरीमा निवेदन दिएको जनाएको छ।

यता, मृतकका ससुरा माहारुद्र जैशीले परिवारमा कुनै विवाद नरहेको दाबी गरेका छन्। उनका अनुसार पशुपती सामान्य रूपमा घाँस काट्न घरबाट निस्किएकी थिइन्।

प्रहरीले पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइसकेको छ। मृत्यु आत्महत्या हो वा हत्या भन्ने विषय पोस्टमार्टम रिपोर्ट, घटनास्थलको अवस्था र प्राप्त प्रमाणका आधारमा खुल्ने भन्दै प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।

२०८३ भाद्र ६, शनिबार ०९:०६ प्रकाशित
ट्रेन्डिङ समाचार