बेलायतमा नेपाली कामदारको बिचल्ली


लन्डन । बेलायतमा स्किल्ड वर्कर भिसामार्फत पुगेका नेपाली कामदार रोजगारदाताबाट शोषित हुनुका साथै कडा अध्यागमन नियमका कारण थप संकटमा पर्न थालेका छन्।

तलब नदिने, पेड होलिडे नदिने, पे स्लिप उपलब्ध नगराउने तथा भिसाका लागि लाग्ने खर्चसमेत कामदारबाटै असुल्ने गरेको गुनासो बढेको छ। कतिपय रोजगारदाताको स्पोन्सर लाइसेन्स खारेज वा निलम्बन हुँदा कामदारले ६० दिनभित्र नयाँ स्पोन्सर खोज्नुपर्ने बाध्यता छ।

स्किल्ड वर्कर भिसामा पछिल्लो समय बेलायत सरकारले तलब, योग्यता र रोजगारदाताको अनुपालनसम्बन्धी नियम कडा बनाएको छ। यसले विशेषगरी रेष्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रमा कार्यरत नेपाली कामदार प्रभावित भएका छन्।

मेलिसा थापा (नाम परिवर्तन) ले २६ महिनासम्म पेड होलिडे नपाएको, सम्झौतामा उल्लेखभन्दा बढी काम गराइएको र नियमित पे स्लिप नदिइएको भन्दै श्रम अदालतमा उजुरी गरेकी छन्। यस्तै, रोजगारदाताको स्पोन्सर लाइसेन्स संकटमा परेपछि अर्की नेपाली कामदार इशा (नाम परिवर्तन) पनि आफ्नो भविष्यबारे चिन्तित छिन्।

अध्यागमन जानकारहरूका अनुसार रोजगारदाताले न्यूनतम ज्याला नदिनु, पेड होलिडे नदिनु र भिसामा उल्लेख भएको पदअनुसार काम नगराउनुजस्ता कारणले स्पोन्सर लाइसेन्स गुमाउने क्रम बढेको छ।

२०८३ श्रावण २९, शुक्रबार १३:०३ प्रकाशित
ट्रेन्डिङ समाचार