काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको छ। एक्स्पोको दोस्रो दिन मात्रै २६ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन्।
मेलामा विभिन्न ब्रान्डका कार, मोटरसाइकल तथा विद्युतीय सवारीसाधनप्रति अवलोकनकर्ताको आकर्षण देखिएको छ। विशेषगरी ब्याट्री क्षमता, मोटर, रेन्ज र आफ्टर सेल्स सर्भिसबारे ग्राहकले चासो राखेका छन्। कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न मूल्य छुट, एक वर्षको बिमा तथा सवारी कर, निःशुल्क सर्भिसिङ र सहुलियत कर्जालगायत सुविधा उपलब्ध गराएका छन्।
एक्स्पोको दोस्रो दिन विभिन्न ब्रान्डले चार नयाँ मोडल सार्वजनिक गरेका छन्। पहिलो दिन ४८ नयाँ मोडल सार्वजनिक भएका थिए। उद्घाटनको दिन २९ हजारभन्दा बढीले मेला अवलोकन गरेका थिए।
एक्स्पोअन्तर्गत आयोजित ‘मोबिलिटी : हिजो, आज र भोलि’ विषयक संवादमा ३०० भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ। एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा विभिन्न विषयमा ‘नाइमा मोबिलिटी संवाद’ सञ्चालन हुनेछन्।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो ६ दिनसम्म सञ्चालन हुनेछ। आयोजकले मेलामा करिब डेढ लाख अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरेको छ।
एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डसहित नयाँ विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षण बनेका छन्। बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले पनि सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन्।


