आज देशभरका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना,विशेष सतर्कता जरुरी
मौसम विभागको चेतावनी : नदी तटीय क्षेत्र, पहिरो जोखिम भएका स्थान र शहरी बाढीप्रति उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही माथि तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास सक्रिय रहेकाले देशभर वर्षा गराउने प्रणाली प्रभावशाली बनेको छ। यही प्रणालीका कारण आगामी तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा उल्लेख्य वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
शनिबार र आइतबार विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा हुने तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
विभागले भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, तराई र सहरी क्षेत्रमा डुबान तथा बाढी, साथै नदी–नाला र खोलामा अचानक जलसतह बढ्न सक्ने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सडक प्रयोगकर्तालाई मौसमको अद्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न विभागले सुझाव दिएको छ।
मौसमविद्का अनुसार निरन्तर वर्षाका कारण कमजोर भू–भागमा पहिरोको जोखिम बढ्ने, सडक अवरुद्ध हुने तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले स्थानीय प्रशासन र सम्बन्धित निकायलाई समेत आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ।
विभागले मौसमको पछिल्लो अवस्था नियमित रूपमा अवलोकन गर्न तथा आवश्यक सूचना र चेतावनीलाई पालना गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ।