राहदानी विभागमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर


काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ।

उपचारमा संलग्न चिकित्सक डा. पीयूष दाहालका अनुसार नेपालीको शरीरको करिब ६० प्रतिशत भाग जलेको प्रारम्भिक अनुमान गरिएको छ। उनको अनुहार, घाँटी, छाती, दुवै हात र खुट्टाका केही भागमा गम्भीर जलन भएको छ।

चिकित्सकहरूले आकस्मिक कक्षमा प्राथमिक उपचार, औषधि तथा आवश्यक परीक्षण पूरा गरी उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राख्ने तयारी गरेका छन्।

डा. दाहालका अनुसार बिरामी सामान्य रूपमा बोल्न सक्ने अवस्थामा भए पनि अवस्था अझै संकटपूर्ण रहेको छ। शरीरको ठूलो भाग जलेका कारण संक्रमण, श्वासप्रश्वासमा समस्या, तरल पदार्थको कमी तथा अन्य अंगमा असर पर्ने जोखिम रहेकाले प्रारम्भिक २४ देखि ७२ घण्टा महत्वपूर्ण हुने चिकित्सकहरूले बताएका छन्।

२०८३ असार २५, बिहीबार १६:४१ प्रकाशित
ट्रेन्डिङ समाचार